
रेवतीरमण सुवेदी
वि.सं. २०२८ साल जननायक विश्वेश्वर प्रसाद (बीपी)र पुष्पलाल (पीएल)बीच बनारसमा एउटा टेवल वार्ता भएको थियो । त्यो वार्तामा बीपीले पुष्पलाल समक्ष ‘तपाइँ मेरो राजनीतिक प्रस्तावमा आँखा चिम्लेर हस्ताक्षर गर्नुहोस् म तपाइँको आर्थिक प्रस्तावमा आँखा चिम्लेर हस्ताक्षर गर्छुं भन्नुभएको थियो । त्यसवखत म अखिल भारत नेपाल विद्यार्थी संघ (अभानेविसं) वनारस शाखाको स्ववियु निर्वाचनमा समाजसेवा सचिवमा निर्वाचित विद्यार्थी नेताको हैसियतले त्यो राजनीतिक टेवल वार्ताको साक्षी थिएँ । बीपीको त्यो राजनीतिक प्रस्तावमा गणतन्त्रलाई अन्तिम गन्तव्य निर्धारण हुनुपर्ने पुष्पलालको प्रस्ताव सहमति हुन नसक्ता वार्ता भंग भएको थियो । नेपालको सन्दर्भमा राजसंस्था फाल्दा राष्ट्रियताको जग हल्लिने सम्भावनाको बीपीको दुरदृष्टिमा माक्र्सको कम्युनिस्ट घोषणापत्र नेपाली भाषामा उत्कृष्ट अनुवाद गरेर नेपालमा कम्युनिस्ट आन्दोलनको जग हाल्नुभएका पुष्पलाललाई विश्वास भएन । बीपीको त्यो दुरदृष्टि आज ५४ वर्ष पाँचदशक पार भइसक्दा गणतन्त्रको दश वर्ष अभ्यासबाट पुष्टि र प्रमाणित भएको छ । हो साँच्चै नै आज (०८२) हाम्रो राष्ट्रियताको जग नराम्रोसँग हल्लिएको छ । यदि ०८२ को चुनाव परिणामले दिएको जनादेश (म्यान्डेट) कार्यरुपमा रुपान्तरण हुन सकेन भने त्यसपछि नेपाल राष्ट्र गम्भीर संकटमा परेर चीन भारतसमक्ष घुँडा टेकेर गुहार माग्नुपर्ने पक्का छ ।
नेपाली राजनीतिको वैचारिक पाटोको एउटा झलक उजगार उदेश्यले यति कुरा ल्याएँ । बीपी पुष्पलालको त्यो वनारस वार्ता भंग यताको राजनीतिक संघर्ष यात्रामा पंक्तिकारको पनि सक्रिय संलग्नता छ । गिरिजाले बोकाएको बमका कारण फाँसी या जन्मकैदको मुद्दामा ७ वर्ष जेल बस्नुप¥यो । राजा वीरेन्द्र र गीरिजाबीच विकल्पको कुरा चल्दा ‘त्यसोभए दुईदलीय व्यवस्था गरौं’ लेख्दा छाप्ने पत्रिका खारेजी सम्पादकलाई जेल भयो । कांग्रेसभित्रको वैचारिक विचलनमा प्रहार गर्नखोज्दा शैलजा आचार्यसँग चप्पल हानाहान भएर त्यतिखेरका मिडियामा अहिलेका प्राडा सुरेन्द्र के.सी.लाई उछिनेर भाइरल हुनुप¥यो । यसबीच पच्चिसवर्षको पत्रकारिता अनुभव १२÷१५ पुस्तक लेखन, प्रस्तुति, सम्पादन, अध्ययन पनि भ्याइयो । अर्थात् विगत ५४ वर्षको नेपाली जनआन्दोलन, राजनीतिक अभ्यास, पत्रकारिता अध्ययन अनुसन्धान, बौद्धिक विमर्श, चिन्तन मनन लेखन क्षेत्रको सक्रिय संलग्न प्रत्यक्ष अनुभव भोगाइको साक्षी हुन पाइयो । आफ्नो यति प्रशंग यहाँ किन ल्याएको भने मैले यहाँ उठाउन खोजेको विषयको एउटा लिगेसी आधिकारितामा प्रष्टता होस् भनेर ।
नेपाली जनआन्दोलन, राजनीतिक अभ्यास, पत्रकारिता, बौद्धिक क्षेत्रको साङ्गोपाङ्गो तपसिलका तमाम अध्यायहरूमा समयले खोजेको विचारधारा र मागअनुसार परिमार्जित हुँदै जाने नै छ । यहाँ अब मैले उठाउन खोजेको मुल विषय कसरी ‘हाम्रो शिक्षाको अपहरण बलात्कार’ भयो र परिणाम आज हाम्रो राष्ट्र खतरा र संकटको कुन चरणमा पुगेको छ भन्ने विषयमा आउँछु । २१ फागुन ८२ को चुनाव परिणाम अध्यायबाट पनि एकसरो छर्लङ्ग भइसकेको छ ।
पहिले ‘हाम्रो शिक्षा नीति’ चिनारीमा अलिकति ऐतिहासिक तथ्य पाठ्यक्रममा ल्याएर ‘अपहरण बलात्कार’ तथ्य प्रमाणमा आउँछु ।
हाम्रो शिक्षानीति गर्भाधानको श्रेय दोलखाका मास्टर भिमबहादुर तामाङलाई जान्छ । जो कालक्रममा बीपीका सुन्दरीजल जेलमा लेखिएका सम्पूर्ण सहित्यको सम्पादनकर्ता कांग्रेसको सांसद मन्त्री भएर जानुभयो । यो सन्दर्भ चाहिं म जन्मेको साल वि.सं. २०११ तिरको हो । भिमबहादुर तामाङका एक काका दार्जिलिङ ब्रिटिस आर्मीमा सिपाही हुनुहुन्थ्यो । दार्जिलिङमै हाइस्कुलसम्मको शिक्षा पास गरेर नेविमा पाइलट कोर्सको लागि नाम निस्किसकेको थियो । कक्षा सन्चालन हुन ६ महिना ग्यापको समय सदुपयोग गर्ने हिसाबले आफ्नो जन्मथलो दोलखा आउनुभयो । दाजिलिङको अंग्रेजहरूका सन्तान स्तरको हाइस्कुलको पढाइले नवचेतना फक्रिन थाल्नु स्वाभाविक थियो । त्यसवखतको हाम्रो ग्रामीण भेगमा शिक्षाको घनघोर अन्धकार पाएर भावुक भएर नेविको पाइलट कोर्सलाई लत्याएर आफ्नै मुलुकमा शिक्षाको उज्यालो छर्ने निर्णय लिनुभयो । जंगलका स्याउला छाएर कटेरो बनाइ घर घरबाट केटाकेटी बटुलेर क, ख पढाउन थाल्नुभयो । वि.सं. २०१७ साल आइपुग्दासम्म त उहाँको मिहिनेतले धेरै रंग ल्याएर ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुरलगायत पूर्वी पहाडी जिल्लामा मास्टर भिमबहादुरका नामले प्रख्यात हुनुभयो । एउटा जिल्लामा एकवर्ष खटेर त्यस जिल्लाका अभिभावकमा छोराछेरी पढाउनु पर्ने जागरण बीजारोपण गरिसकेपछि अर्को जिल्ला जाने उहाँको तरिका हुन्थ्यो । बीपीले यो कुरो थाहा पाएर रामेछापका कांग्रेस नेता पद्म शंकर अधिकारीमार्फत १७ सालको कांग्रेस महाधिवेशनबाट पार्टीमा भित्र्याउनु भयो । सुरुमा उहाँ कांग्रेसमा भित्रिन मान्नुभएको थिएन । तर बीपीले उहाँद्वारा प्रस्तावित शिक्षानीतिलाई कांग्रेस पार्टीले अँगाल्ने बचन दिएपछि मात्र मान्नुभयो । भिमबहादुर तामाङद्वारा प्रस्तावित १७ सालको कांग्रेस महाधिवेशनबाट पारित शिक्षानीतिलाई नै मैले ‘हाम्रो शिक्षा नीति’ भनेको हुँ । जुन नीति अनुसार पाँचकक्षासम्म निःशुल्क अनिवार्य शिक्षा लागू गर्नु पर्दथ्यो ।
अन्य राजनीति कारण सत्रसालमा राजा महेन्द्रले बीपीलाई जेल पुर्याए पनि ०२१ सालमा त्यहीं मास्टर भिमबहादुरद्वारा प्रस्तावित कांग्रेस महाधिवेशनबाट पारित ‘पाँचकक्षासम्म निःशुल्क अनिवार्य शिक्षा’ लागू गरे । पाठ्यक्रम यस्तो बनाइयो कि इतिहास, भूगोल, धर्म, संस्कृति, सगरमाथा, गौतम बुद्ध, राष्ट्रपिता पृथ्वीनारायण शाह, आदिकवि, महाकवि, कविशिरोमणि, इतिहास शिरोमणि, रामायण महाभारतका कथा एउटा विद्यार्थीले पाँचकक्षा पढीसक्दा उसँग आजको मितिको पीएचडीको सरह नवजागरण अंकुरित भइसकेको हुन्थ्यो । यसरी पाँचकक्षा उतिर्ण गरेको विद्यार्थीले अगाडिको हाइस्कुल, कलेज, विश्वविद्यालयको पढाइसम्म आफूलाई पुर्याउन सक्यो भने भारत चीनजस्ता देशहरूलाई समेत विद्या र बुद्धिमा उछिन्ने देखियो ।
अब आउँ ‘अपहरण बलात्कार’ तथ्यमा ।
भारत—चीनलगायत सारा एसिया अफ्रिकाका विकाशोन्मुख मुलुकहरूका लागि अनुकरणीय हुनसक्ने नेपालको यस अभूतपूर्व ‘शैक्षिक क्रान्ति’ प्रति अमेरिकाको प्रथम कुदृष्टि पर्यो । कुनै पनि देशमा भाडभैलो मच्चाएर मनपरि गर्नु छ भने सबैभन्दा पहिले त्यो देशको शिक्षानीति भाँडिदेउ भन्ने नालन्दा तक्षशिला विश्वविद्यालयमा आगो लगाएदेखिकै पश्चिमाहरूको घोषित नीति नै थियो । तर राजा महेन्द्रको जीवनकालसम्म नेपालको शिक्षानीति भाँड्न अमेरिका आँट गरिरहेको थिएन । तर जब राजा महेन्द्रले माओत्सेतुङको आड लिएर नेपालका पन्ध्र पहाडी जिल्लाका अठार ठाउँमा गाडिएका भारतीय सैनिक पोस्ट (नेपालको सार्वभौमिकता भारतको मुठ्ठीको माखो) उखेल्ने कुटनीतिक आँट (सैनिक बलले भारतसँग लड्न सम्भव थिएन छैन)का कारण राजा महेन्द्रको हत्या (विष प्रयोगद्वारा मृत्यु भन्न नमिलेर हृदयघात भनियो) भयो त त्यसको डेढमहिना पनि पुरा हुन नपाउँदै ‘नयाँ शिक्षानीति ०२८’लागू भइहाल्यो । जुन नीतिको विरोध गर्दा योगी नरहरिनाथलाई अण्डकोषमा सुइरो रोपेर तिनाउ नदिमा फालिएको थियो । जनकपुर जदुकुवामा विरोध प्रदर्शन हुँदा कामेश्वर, कुशेश्वर दुई विद्यार्थी सहिद भए । भर्खर श्रीपेच (राजमुकुट) ‘धारण गरेका राजा वीरेन्द्रले स्वागत, सत्कार, शुभकामना, फूलका गुच्छा समाल्नमा व्यस्त कालक्रममा ‘महाकाली सन्धी’ ‘एमसीसी पास’ राष्ट्रघातभन्दा पनि ठूलो असर पुगेको ‘राष्ट्रघात’ भइसकेको पत्तै पाएनन् । यसमा मैले अपहरण र बालात्कार किन भनेको भने नयाँशिक्षा नीतिको पाठ्यक्रमबाट नैतिक शिक्षा हटाइयो । पाँचवर्षको उमेरदेखि पढ्न थालेका सोह्रवर्ष उमेर (एसएलसी परीक्षा दिन पाउने उमेर)का भविष्यका कर्णधार पुस्ताको पाठ्यक्रमबाट नैतिक शिक्षा हटाउनु भनेको हाकाहाकी डाकजनी शैलीमा अनैतिक (विवेकहिन पशुभिः समान) नागरिक उत्पादन गर्नु थियो । यही तथ्यलाई मैले ‘महाकाली सन्धी’ र ‘एमसीसी पास’ भन्दा पनि ठूलो र घातक राष्ट्रघात भनेको हुँ । किनभने महाकालीसन्धी एमसीसी पास जस्ता राष्ट्रघातलाई त ‘पृथ्वीपथ’को जगमा उभिएको अहिलेको बालेन सरकार जस्तै बलियो सरकार आएका दिन एउटै निर्णयबाट खारिज हुन सक्छन् । तर नैतिक शिक्षाबाट बन्चित आम नागरिक चेतनालाई नैतिकताको धरातलमा पु¥याउन उभ्याउन वषौं होइन शताब्दीऔं लाग्न सक्छ । आज मुलुकमा नैतिकताको खडेरि परेर अनैतिकताको जुन साम्राज्य स्थापित भएको छ त्यसको मुल कारण नै त्यो ०२८ सालको नयाँशिक्षा नीति लागू नै हो भन्नेमा कुनै भ्रम र द्विविधा आवश्यक छैन ।
नयाँशिक्षा नीति लागूपछि शिक्षामा व्यापार घुसेर बोर्डिङ स्कुलहरूले बीस प्रतिशत सत्ताधारीवर्ग उत्पादन गर्ने र सरकारी स्कुलहरूले असी प्रतिशत शासितवर्ग उत्पादन गर्ने (असीलाख बलिया पाखुरी खाडी मुलुकमा रेमिटेन्सका लागि लखेटिएका) यो साङ्लो नटुटदासम्म देश विकासको एउटा पाइला पनि अगाडि बढ्न नसक्ने प्रष्ट देखेर नै सिंगापुरका लिक्वानयुले प्रधानमन्त्रीका हैसियतको पहिलो निर्णय नै ‘दोहोरो शिक्षा प्रणालीको अन्त्य’मा हस्ताक्षर गरेका थिए । त्यस हस्ताक्षर निर्णयमा उनले भनेका थिए ‘जसलाई आफ्ना सन्तान बोर्डिङ स्कुलमा पढाउनु छ विदेश पठाउ मलाई आपत्ति हुने छैन तर अब सिंगापुरमा शासक र शासित दुईथरी नागरिक जन्माउने दोहोरो शिक्षा प्रणाली चल्दैन । आजैका मितिबाट सारा बोर्डिङ स्कुलहरू राष्ट्रियकरण गरिएको छ ।’ उनले यो निर्णयको पहिलो कार्यानवयन आफ्नै सन्तानबाट प्रारम्भ गरेका हुँदा बोर्डिङ स्कुलमा पढिरहेका छोराछोरीको भविष्य बिगार्यौ भनेर श्रीमतीसँग पारपाचुके अवस्था आउँदा पनि देश र जनताको भविष्य हेरेर आफ्नो निर्णयमा अडिग रहिरहे । आज सिंगापुर विकासको जुन सगरमाथा चुमिरहेको छ त्यस उडानको मुख्य पखेटा नै त्यही निर्णय थियो ।
प्रधानमन्त्री बालेन शाह शिक्षामा व्यापार अन्त्य गरेर सारा बोर्डिङ स्कुलहरू खारेज (राष्ट्रियकरण) गर्दैछन् भन्ने समाचार सामाजिक संजालमा भाइरल भइरहेको पृष्ठभूमिमा यति कुरा पाठ्यक्रममा ल्याउन लोभ गरेको हुँ । देश बेचुवा, मानवतस्करीमा संलग्न, देशी विदेशी तस्कर माफिया बिचौलियाका भरिया बनेका कमिसनखोर, घुसखोर, भ्रष्टाचारी, दलिय नेतृत्व (वडा अध्यक्ष देखि प्रधानमन्त्री राष्ट्रपतिसम्म) का स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गरेर बोर्डिङ स्कुलहरूका मालिकहरूका जरुरतहरूको लेखाजोखा गरेर किस्ताबन्दीमा क्षतिपूर्तिको व्यवस्था चाहिं मिलाउनुपर्छ भन्ने बालेन सरकारलाई पंक्तिकारको सल्लाह छ । अस्तु ।